राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता-२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ ।

सोमबारसम्म भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।

एकल कातामा प्रिन्स प्रथम
कराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । त्यसैगरी शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र न्यु मोडेल एकेडेमीका जीवन मगर तेस्रो भए । बाराही माविका अमिर तामाङले सान्त्वना स्थान हासिल गरे । कराँतेकै फाइटतर्फको ४२ केजी तौल समूहमा तेस्रो स्थानको टुंगो लागे पनि विजेता र उपविजेताको टुंगो लाग्न भने बाँकी छ । शिवशक्ति माविका रोमन नेपाली र हिमाली माविका जेनिश गुरूङ फाइनल प्रवेश गरेका छन् । सैनिक माविका कुशल गुरुङ र शितलादेवी माविका प्रशान्त लिम्बु तेस्रो भए ।

यसौगरी ४७ केजी तौल समूहको पनि विजेता र उपविजेताको टुंगो लागेको छैन् । उक्त विधामा न्युमिलिनियमका प्रिन्स गुरुङ र सैनिक आवासिय माविका कुशल जिटि फाइनल प्रवेश गरे । हिमाली माविका अनिल विक र सैनिक आवासीयका मुस्कान बालाचार्य तेस्रो भएको आयोजकले जनाएको छ ।

एथलेटिक्सतर्फ लङ्गजम्प छात्रमा राष्ट्रिय माविका रोहित रायमाझिले स्वर्ण, लिटिल फ्लावरका लब पोखरेलले रजत र त्रिवेणी माविका शिशिर कुमालले काँस्य हात पारे । छात्रातर्फ त्रिवेणी माविकी एन्जल अधिकारीले स्वर्ण, सैनिक आवासीय माविकी दीपा बालायारले रजत, जनज्योति माविकी सफलता जिसी र टप्स माविकी पवित्रा गुरुङले काँस्य पदक पाए ।

ज्याभ्लिन थ्रो पुरुषतर्फ पश्चिमाञ्चलका नरेश विकले स्वर्ण, गौरीशंकर माविका प्रभु तामाङले रजत र सरस्वती माविका यरिस घर्तीले काँस्य जिते । छात्रातर्फ शहिद स्मृति माविकी संगिता घर्तीले स्वर्ण, छोरेपाटन माविकी बबिता तामाङले रजत हात पारिन् । सैनिक माविकी सरिना श्रेष्ठले काँस्य पदक पाइन् ।

एक सय मिटर दौड छात्रतर्फ सिर्जना सेकेन्डरीका रिसब श्रेष्ठले स्वर्ण जिते । शहिद स्मृतिका दिपेश यादव र टप्स माविका दर्शन गुरुङले क्रमशः रजत र काँस्य पदक प्राप्त गरे । छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जल अधिकारीले स्वर्ण, टप्स माविकी पवित्रा गुरुङले रजत र श्रीकृष्ण सेकेन्डरीकी मञ्जिला थापाले काँस्य पाए ।

४ सय मिटर दौड छात्रतर्फ कास्की मोडर्नाइजका सन्दिप कुँवरले स्वर्ण, सैनिक माविका राजिप थापाले रजत र छोरेपाटन माविका नरेश बास्तोलाले काँस्य हासिल गरे । छात्रातर्फ टप्स बोर्डिङकी सबिना खातुन मियाँले स्वर्ण, सगरमाथा निकेतनकी अनुस्का अधिकारीले रजत र त्रिवेणी पब्लिककी सुप्रिया अधिकारीले काँस्य पदक जिते ।

१५ सय मिटर छात्रा दौडतर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण हासिल गरिन् । गौरीशंकर माविकी कविता मगरले रजत र ज्ञानज्योति कुञ्जकी ध्वजकुमारी नेपालीले काँस्य जितिन् । ३ हजार मिटर छात्रतर्फ छोरेपाटन माविका तेन्जोन रोका मगरले स्वर्ण पदक हासिल गरे । जनप्रकाश माविका लक्ष्मण शर्माले रजत र सैनिक माविका आक्रिष्ट थापाले काँस्य पाए ।

कबड्डी र भलिबल
कबड्डीको छात्रतर्फ पहिलो सेमिफाइनल बेथाने मावि र अमरसिंह माविबीच हुनेछ । दोस्रो सेमिफाइनलमा कालिका मावि र भवानी कालिका माविबीच प्रतिस्पर्धा हुनेछ । छात्रातर्फ पहिलो सेमिफाइनमा रामेश्वरी मावि र सहिद स्मृति मावि खेल्ने छन् । गौरिशंकर मावि र सरस्वती टिका माविबीच दोस्रो सेमिफाइनल हुनेछ ।

यस्तै छात्र भलिबलमा सहिद स्मृति मावि र यूनिभर्स मावि, स्पाइरल ग्यालेक्सी र राष्ट्रिय मावि सेमिफाइनलमा खेल्ने छन् । छात्रातर्फ शान्त मावि र कन्या मावि, तालबाराही मावि र जनप्रिय मावि खेल्ने महानगर भलिबल संघका अध्यक्ष राम लामिछानेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button