राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको उपाधि टप्स बोर्डिङलाई

राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ काँस्य पदकसहित टप्स च्याम्पियन बनेको हो ।

सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ काँस्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पार्यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ काँस्यसहित तृतीय भयो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल भएका थिए । एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ काँस्य हासिल गर्दै प्रथम भयो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो भने त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडर्नाइज्ड ४ रजत र २ काँस्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ ।

कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो भने न्युमिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ काँस्यसहित तृतीय भए । उसुतर्फ कालिका २ स्वर्ण सहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान एक-एक स्वर्णका साथ क्रमशः द्वितीय र तृतीय स्थानमा रहे । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीये स्थान छुट्याइएको थियो ।

यसैगरी तेक्वान्दोमा ४ स्वर्ण र १ रजत सहित सहिद स्मृति प्रथम भयो । १ स्वर्ण, १ रजत र १ काँस्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह मावि तृतीय भए । भलिबलको छात्रतर्फ युनिभर्स प्रथम, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए । छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय भए ।

कबड्डी छात्रतर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भएको खेलकुद विकास समितिले जनाएको छ । छात्रातर्फ गौरीशंकर प्रथम, शहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । प्रतियोगितामा ३० वटा विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए ।

मंगलबार समापन समारोहमा बोल्दै महानगर प्रमुख धनराज आचार्यले विद्यालयस्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्र अघि बढ्न नसक्ने बताए । महानगरले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने उनले बताए । ‘वर्षभर हुने खेलकुदको हामी क्यालेन्डर बनाउँछौं । त्यसले परीक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ,’ मेयर आचार्यले भने ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए । उनले रनिङ सिल्ड तथा मेयर कप सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button