सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवनलाई अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २-अन्डर ६७ सहित शीर्षस्थानमा रहन सफल भएका छन् ।

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारेका हुन् । सञ्जय र प्रज्वल १-ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन् । आजको खेलपछि दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७१ सहित चौथो स्थान बाँडे ।

यसैगरी १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुबाश तामाङ र प्रो धन बहादुर थापाले ३-ओभर ७२ को स्कोर कार्ड बनाउँदै संयुक्तरुपमा सातौं स्थानमा छन्।  ४-ओभर ७३ स्कोरकासाथ नेपाल नम्बर एक शुक्र बहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्तरुपमा नवौं स्थानमा छन् ।

नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडी मध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए।  पहिलो होलमा बोगीको सामना गरेपनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे। यसरी उनले दिनकै उत्कृष्ट २-अन्डरको स्कोर कार्ड बनाए।

पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन् । ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् । शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button