त्रिकोणात्मक सिरिज क्लिनस्विप गरेको नेपाली क्रिकेट टोलीलाई नगद इनाम

विश्वकप लिग डिभिजन-२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिज क्लिनस्विप गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कार इनाम दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान खेलाडीसँगको भेटपछि नेपाल सरकारकोतर्फबाट जनही दुई लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । उनले खेलाडीलाई प्रेरणास्वरुप उक्त रकम दिन लागेको पनि बताएका थिए । अघिल्लो साता भएको प्रतियोगितामा नेपालले स्कटल्याण्ड र नामिबियामाथि २-२ खेलमा जीत हात पारेको थियो ।

विश्वकप छनोटमा सोझै भाग लिने लक्ष्य बोकेको टोलीले अब ८ खेल खेल्न बाकिँ छ । युएई र पपुवा न्युगिनीसँग हुने ४-४ खेलमध्ये नेपाललाई सबै खेल जित्नुपर्ने बाध्यता छ । यसैगरी कम्तीमा ५ खेल जितेर एकदिवसीय मान्यता जोगाउने चुनौती पनि नेपाली टोली सामू छ ।

१५ फागुनदेखि युएईना शुरु हुने आगामी त्रिकोणात्मक सिरिजमा भाग लिन नेपाली टोली १३ फागुनमा त्यसतर्फ जाँदैछ । सिरिजमा नेपालले पहिलो खेल फागुन १५ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button