सृजना कप भलिबल: छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल खेल हुँदै

पाँचौँ सृजना कपअन्तर्गत आज छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमिफाइनल खेलहरु हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा छात्रातर्फ अन्तिम चारको टुंगो लागेको हो ।

बुधबारको खेलबाट साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगनलाई हराउँदै सेमीको यात्रा सुनिश्चित गरिसकेको थियो ।

दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५-२० र २५-१७ सेटमा हरायो । जनप्रिय माविले भद्रकालीलाई २५-९ र २५-१२ तथा कन्याले गौरीशंकरलाई २५-१९ र २५-२२ सेटमा पाखा लगाउँदै सेमिफाइनल सुनिश्चित गरेका हुन् । बिहीबार शान्ता र जनप्रियबीच पहिलो र कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनल हुने रेफ्री संयोजक गोपाल थापाले जनाए । कास्की जिल्लाका सामुदायिक विद्यालयमात्र भाग लिने प्रतियोगिताअन्तर्गत छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।

छात्रतर्फ सहभागी ३० टिममध्ये भगवती, भद्रकाली, शान्ता, राष्ट्रिय, मेश्रम बराहले विजयी यात्रा कायम राख्दै क्वारफाइनलमा पुगेका छन् । दोस्रो दिन बुधबारको खेलमा भगवती माविले शारदा माविलाई २५-१७ र २५-११ पराजित गरेको छ । अमरसिद्ध नमुना माविले विन्ध्यवासिनी मावि वरपाटनलाई २५-२१ र २५-२३ सेटमा पाखा लगायो ।

ब्रम्हरुपा माविले लक्ष्मी माविको चुनौती २५-१० र २५-११ मा पन्छाउँदा चन्द्रप्रभा माविले पार्दीलाई २-१ सेटमा हरायो । चन्द्रप्रभा २५-२१, २२-२५ र २७-२५ सेटमा विजयी भएको हो । शान्ता मावि र कालिका माविबीचको खेलमा कालिकाले जीत निकाले पनि कालिकाविरुद्ध प्रोटेस्ट परेको छ । साविक विजेता शान्ता अन्तिम ८ पुगिसकेको छ ।

यस्तै, भद्रकालीले तालवाराहीलाई सोझो सेटमा २५-१९ र २५-१४ मा हरायो । राष्ट्रिय माविले चन्द्रप्रभालाई २५-१९ र २५-१९ पराजित गर्यो । गोगन माविले सिर्जना माविलाई २५-८ र २५-११ मा पराजित गरेको छ । मेश्रम बराहले अमरसिद्ध नमुना माविलाई २३-२५, २५-१७ र २५-२३ गरी २-१ सेटले हरायो । भगवती माविले अमरसिंह नमुना माविलाई २-१ सेट (२२-२५, २५-१७ र २५-१३) ले हरायो ।

फागुन १९ मा हुने फाइनलमा छात्रछात्रा दुवैतर्फ विजेतालाई १-१ लाख, उपविजेतालाई ६०-६० हजार र तृतीय हुने विद्यालयलाई ३५-३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button