युएईलाई पराजित गर्दै नेपालको यु-१९ विश्वकप खेल्ने सपना साकार

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपका लागि छनोट भएको छ । नेपालले युएईलाई रोमाञ्चक खेलमा सात रनले हराउन सफल भएको हो ।

आज युएईको अज्मानस्थित इडेन गार्डेन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै एक सय ९१ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रनको योगदान दिए भने विशाल विक्रम शाहले ३८ र उत्तम मगरले ३४ रन बनाए । दीपेश कँडेलले पनि १५ रनको योगदान दिए । युएईका ध्रुव परासरले सर्वाधिक तीन विकेट लिँदा आयन खान र हरित सेट्टीले समान दुई-दुई विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । खेलमा लगभग हारको मुखैबाट नेपाललाई दीपेश कँडेलले जीतसम्म डोहोर्याएका थिए । १ सय ७७ रनमा ७ विकेट गुमाएको युएई जीतको नजिक थियो तर दीपेश कँडेलले ४८ औँ ओभरमा ह्याट्रीक लिएपछि नेपालको विश्वकप सपना साकार बनेको हो । म्यान अफ द म्याच बनेका दीपकले ५ विकेट लिन सफल रहे । युएईका लागि इथन डिसुजाले सर्वाधिक ५० रनको योगदान दिए ।

पाँच देश सहभागी लिगमा नेपाल र युएई दुवैले आफ्ना अघिल्ला सबै चार खेल जितेका थिए । त्यसैले आजको खेल फाइनलसरह बनेको थियो । नेपालले आजको खेल जितेसँगै अघिल्लो विश्वकप छनोटमा युएईसँगको एक रनको हारको बदला पनि पूरा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button