शुरु भयो नवौँ सुन्दरबजार महोत्सव

फागुन १८ देखि २८ गतेसम्म सञ्चालन हुन लागेको सुन्दरबजार महोत्सवको बिहीबार उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमबीच महोत्सवको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै अधिकारीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताए । उनले अब गाउँमै रोजगारी सिर्जना गरेर आत्मनिर्भर हुनुपर्ने पनि बताएका थिए । लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा हुँदै गरेको महोत्सवमा १ सय ५० वटा व्यावसायिक स्टलहरु रहेका छन् । स्टलहरुमा स्थानीय उद्योग, व्यापार, हस्तकलालगायतका वस्तुहरु राखिएको छ भने महोत्सवमार्फत व्यावसायिक कृषि, पशुपालन र जडिबुटीको प्रबर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकको भनाई छ ।

उद्घाटन समारोह अघि सुन्दरबजारका विभिन्न संघ संस्था, आमासमूह, कलेज तथा विद्यालय, जातजाति समूहहरुले झाँकी र र्‍याली निकालिएका थिए । महोत्सवमा स्थानीय कृषि घरेलु तथा हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोकदोहोरी प्रतियोगिता, स्थानीय फोटो प्रदर्शनी, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, खाना महोत्सव, बाल उद्यान, साङ्गीतिक प्रस्तुतिलगायत विभिन्न आकर्षक कार्यक्रम आयोजना हुने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button