सृजना कप भलिबलको उपाधि छात्रातर्फ शान्त र छात्रतर्फ ब्रम्हरुपालाई

पाँचौँ सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् ।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै साविक संस्करणको पनि विजेता शान्त माविले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ ।

छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ब्रम्हरुपाले २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा राष्ट्रिय माविलाई हरायो । पहिलो सहभागितामै उपाधि जितेको ब्रम्हरुपाले ट्रफीसहित १ लाख पुरस्कार प्राप्त गरेको छ ।

छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई जनप्रियले २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेको शान्तले तेस्रो सेट भने गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले तेस्रो सेट जिते पनि अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १-१ लाख, उपविजेतालाई ६०-६० हजार र तृतीयलाई  ३५-३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट खेलाडीमा छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार घोषित भए । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए ।

छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए । छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए । समापन समारोहमा कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

समारोहका प्रमुख अतिथि राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले भलिबल खेलको विकासका लागि आफू सधैं दत्तचित्त रहेको बताए । कार्यक्रमको उद्देश्यमाथि सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रकाश पारेका थिए । कार्यक्रमको स्वागत मन्तव्य भलिबल संयोजक मीनप्रसाद भट्टराई र संचालन कास्की भलिबल संघ महासचिव टंकराज पौडेलले गरेका थिए ।

सो अवसरमा भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल संघ कास्की निवर्तमान अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, हरिप्रसाद बराल, तत्कालीन सृजना रनिङ सिल्डका संयोजक एवं सृजना विकास केन्द्रका पूर्व उपाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलाई भलिबल खेल एवं संस्थागत योगदानमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो ।

प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी माविलाई अनुशासित टिमको उपाधि दिइयो । समापनमा सृजना बहिरा विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुल स्कुलमा भलिबल लक्ष्यका साथ आयोजित प्रतियोगिता ४ दिन चलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button