स्याङ्जाको कोल्मामा तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने

स्याङ्जाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीत बहादुर गुरुङले जानकारी दिनुभयो ।
स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोटसहित तनहुँको शुक्लागण्डकी र बिरुवा गाउँपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहासिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौडको आयोजना गरिएको बताउँदै अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक विकास गर्न सकेको खण्डमा गाउँ बस्ती रित्तिनबाट जोगिन सक्ने बताउनुभयो ।

दौड सँगै स्थानीय कला संस्कृतिको प्रदर्शन र होमस्टे साँझ समेत उक्त कार्यक्रममा समेटिने छ । २० किलोमिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखि, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुँको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, बिरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।

प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रथम हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्वितीय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ वर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश : नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १० औं स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने मञ्चका महासचिव मन बहादुर थापा मगरले जानकारी दिनुभयो । अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनाका हवल्दार राजन खत्रीले उपाधी चुमेका थिए भने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधि चुमेका थिए ।

कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानीय संघसस्था, युवा क्लब, आमा समूह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने समेत थापा मगरले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button