मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण

मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई १२ हजारका दरले १ लाख ८० हजार छात्रवृत्तिका लागि नगद र ७ विद्यालयलाई ३ लाख २० हजार बराबरको विज्ञान तथा गणितिय शैक्षिक सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।

शैक्षिक सामाग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सृजना सामुदायिक मावि सिमपाली र संगम मावि चन्द्राकोट रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’ ले अशिक्षा, अज्ञानतामा रुमलिएका मानिसलाई चिरा पार्ने भनेकै शिक्षा रहेको हुँदा शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिहरु सधै आदरणिय रहने बताए । पाएको सहयोगको उचित प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने रहेको बताए । प्रतिष्ठानले कुनै निजी स्वार्थको लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ती र विद्यालयलाई वार्षिकरुपमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गिरीले दिए । साथै उनले विद्यालय तथा विद्यार्थीलाई प्रतिष्ठानबाट प्राप्त सहयोगको दुरुपयोग नगर्न पनि आग्रह गरे । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताए ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत, महेन्द्र माविका सहायक प्रधान शिक्षक मिनराज अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकमा अवस्थित महेन्द्र माविको सभाहलमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए । सांस्कृतिक प्रस्तुती सहितको कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले राखेका थिए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्ष डा. राम गिरी हाल जापानमा छन् । प्रतिष्ठानले अहिलेको र पछिल्लो तीन वर्षमा शिक्षा क्षेत्रमा मात्रै १६ लाख २० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button