एक करोड लगानीमा पोखराको लेखनाथमा रिभर बैङ्क इको रिसोर्ट

पोखरा, ३० फागुन  । पोखरा महानगरको  लेखनाथमा रिभर बैङ्क इको रिसोर्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

पोखराको पृथ्वीचोक देखि २५ मिनेटमा पुगिने रिसोर्ट पोखरा २८ स्याङखुदी लेखनाथमा अवस्थित छ । गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिसोर्ट सञ्चालनमा ल्याएको भुर्तेलले बताए । लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरूलाई रिसोर्ट उपयुक्त हुने भनाई उनको छ ।

करिब एक करोड लगानीमा सञ्चालनमा आएको रिसोर्ट मार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । रिसोर्टको वरिपरि शान्त वातावरण छ । सहर देखि केही पर गाउँमा बस्न जान चाहनेहरूका लागि रिभर बैङ्क इको रिसोर्ट रोजाइमा पर्न सक्छ । सुलभ दरमा आनन्ददायी बसोबासका लागि स्याङखुदी आउन उनको आग्रह छ ।

विदेश नगएर स्वदेशमा नै केही गर्ने उद्देश्य सहित आफू व्यवसायी क्षेत्रमा लागि परेको भनाई उनको छ । ‘पछिल्लो समय हामी जस्ता युवाहरू घर देश छाडेर परदेश जाने बाध्यता बढ्दो छ । तर मैले त्यसो गरिन । सानै भए पनि पोखराको न्युरोडमा फुड बैङ्क सञ्चालनमा ल्याए । अहिले रिसोर्ट सञ्चालनमा ल्याएको छु । विदेश जाने सोच छैन । आशा छ सबैको माया रिसोर्टलाई मिल्नेछ ।’

रिसोर्टको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र महासचिव भूपेन्द्रराज सुवेदीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिसोर्ट सञ्चालन गर्नु नै हिम्मतको काम भएको उल्लेख गरे । उनले युवाहरू अब विदेश होइन स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर आउनुपर्ने धारणा राखे ।

सरकारले पनि युवाहरूलाई व्यवसायमा आकर्षण गराउन सबल नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई उनले औँल्याएका छन् । रिभर बैङ्क इको रिसोर्टको निरन्तरताको कामना गर्दै लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूको हितमा काम गरिरहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button