पोखराको लेकसाइडमा १० करोडको लागतमा होटल पौवा सञ्चालनमा

पोखरा, ०८ चैत । पोखराको लेकसाइडमा होटल पौवाले आफ्नो ११ औँ शाखा सञ्चालनमा ल्याएको छ । करिब १० करोडको लगानीमा लेकसाइड स्थित स्ट्रिट नं. १ मा पौवाले होटल सञ्चालनमा ल्याएको हो ।

११ औँ शाखाको रूपमा पोखरामा करिब १० करोड बढी लगानी भएको र आगामी दिनमा थप लगानी गर्ने योजना रहेको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । सुन्दर गार्डेनसहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईट गरी ३९ वटा रुम रहेको उनले बताए । ज्ञवालीका अनुसार होटलका कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्ति स्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

होटलले ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेको ज्ञवालीको भनाई छ । प्रबन्ध निर्देशक ज्ञवालीले भने ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखरावासी र बाहिरका सबै पाहुनाहरूलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमानदारीपूर्वक सेवा सत्कार दिनेछौँ ।’

होटलमा सेमिनार हल र कन्फरेन्स हल गरी दुई वटा हल रहेकोमा फेवा हलमा एकै पटक एक हजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाह उत्सव लगायतका विविध कार्यक्रम गर्न सकिने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए। एकै पटक पचासौँ सवारीसाधन पार्किङ गर्न सक्ने सुविधा रहेको पौवाले चौबिसै घण्टा आतिथ्य सत्कारको सेवा दिएको भण्डारीले दाबी गरे। पौवामा आउने पाहुनालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र बसपार्कसम्म आउने जाने सुविधासमेत रहेको उनले बताए। पौवा पोखरामा ५० जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको होटलले जनाएको छ ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रूपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले दाबी गरे । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

रुपन्देहीको सालझण्डीबाट आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढीपछि ११ औ शाखा पोखरामा सञ्चालनमा ल्याएको हो । पौवाले राजधानी काठमाडौँ र नेपालगन्जमा पनि शाखा विस्तार गर्न लागेको जानकारी दिँदै एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पौवाको लक्ष्य अनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अरबौँ पुग्ने होटलले जनाएको छ ।

पौवाको पोखरा शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते पौवा स्वाद उत्सव, पौवाका सबै शाखाका सेफहरूबिच अन्तर शाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । ‘

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button