सिके राउतको सचिवालयले जहरिला साँप पार्टी भनेपछि…

जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै जहरिला साँप पार्टीले मोरङ, सुनसरी, सप्तरी र रौतहट पछि अब बारा जिल्लाको नेता तथा कार्यकर्ताको राजनीतिक हत्या गर्न लागेको आरोप लगाएको छ ।

उक्त पोस्टमा सीधा रुपमा कुनै पार्टीलाई आक्षेप नलगाए पनि जनता समाजवादी पार्टीलाई निशाना साँध्न खोजेको बुझ्न सकिन्छ । जसपाले मोरङको विराटनगर महानगरपालिकामा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाएपनि पराजित भएका थिए । यसैगरी सप्तरी दुईमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई नै पराजित गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यता रौतहट-३ मा जसपासँग एमालेको गठबन्धन भएको भन्दै बागी उम्मेदवारी दिएका प्रभु शाह विजयी भएका थिए भने जसपाले कुनै सिट जित्न सकेको थिएन । सुनसरीमा भने जसपाका अशोक राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यिनै घटनाहरुलाई प्रतिबिम्बित गर्दै सिके राउत सचिवालयले स्टाटसमा अब बारावासीको पालो रहेको भन्दै तयार हुनुहुन्छ भनेर प्रश्न गरिएको छ ।

बारा-२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष यादव नै उम्मेदवार हुने तयारी गर्दै गर्दा जनमत पार्टीकोतर्फबाट यस्तो अभिव्यक्ति आएको छ । यसअघि तीन सय ५४ मतान्तरले छिनोफानो भएको बारा-२ मा उपनिर्वाचन पनि निकै रोचक बन्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button