मुस्ताङ र म्याग्दीमा दुई परम्परागत खेलका प्रतियोगिता हुँदै

पोखरा, ०७ जेठ । नेपालमा खेलिने परम्परागत तारा खेलको प्रतियोगिता मुस्ताङ र ठेलो खेल प्रतियोगिता म्याग्दीमा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुट्टा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानीय परम्परागत खेलहरूको संरक्षण गर्न वार्षिक कार्यक्रममा ती प्रतियोगिताका लागि बजेट विनियोजन समेत गर्दै आएको छ ।

परम्परागत तारा खेल यही जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् । परिषद्का सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरूलाई पत्राचार गरिएको बताए ।

परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिँदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागी हुनेछन् । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागी हुन पाउने उनले जनाए ।

तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्राचार गरिएको छ ।

गत वर्षबाट परिषदले सुरु गरेको ती दुवै प्रतियोगिताहरू मध्ये गत वर्ष तारा खेल मनाङमा र ठेलो खेल कास्कीमा आयोजना भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button