पोखरामा जारी वडास्तरीय फुटबलको सेमिफाइनलका खेल आज

पोखरा, १० जेठ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगितामा अन्तिम चारमा पुगेका टिम आज सेमिफाइनल खेल्दै छन् ।

अन्तिम चारमा पुगेका पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिमले आज सेमिफाइनल खेल्ने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । यी चारमध्ये दुई टिम आज हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् ।

पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।  कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाले सहभागिता जनाएका थिए ।

विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।

फाइनल खेल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button