पोखरा १६ का सामुदायिक विद्यालयलाई डस्टविन वितरण

पोखरा, १३ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १६ भित्र रहेका १४ वटा सामुदायिक विद्यालयका प्रतिनिधिलाई सरसफाइ तालिम प्रदान गरी डस्टविन वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरूको उपस्थितमा सरसफाइ तालिम तथा प्रशिक्षण कार्यक्रम गरी कार्यक्रम पश्चात् कुहिने, नकुहिने र अन्य फोहोर राख्न विद्यालयलाई हरियो, रातो र निलो रंगको तीन/तीन वटा डस्टविन वितरण गरिएको आयोजक ग्रिन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक गोविन्द आचार्यले जानकारी दिए ।

वडा नम्बर १६ को समन्वय एवं आर्थिक सहयोगमा भएको कार्यक्रममा स्रोतबाट नै फोहोर व्यवस्थापन गर्न प्रत्येक घर तथा शैक्षिक संस्थाबाट निस्कने फोहरको उचित विसर्जन गरी आम्दानीको स्रोत विकास गर्ने र फोहोरको उचित व्यवस्थापन गर्ने सम्बन्धमा तालिम प्रदान गरिएको आचार्यले बताए ।

शान्ति मावि जुम्लेटीमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश आचार्यले शैक्षिक संस्था/टोल समुदायले फोहोर वर्गीकरण तथा व्यवस्थापनको दिगो समाधानका अभ्यास गर्न सके ल्याण्डफिल्ड साइट जाने फोहोर ९० प्रतिशत कम हुने भन्दै फोहोरलाई आम्दानी तथा रोजगारीको स्रोत बनाउन सकिने धारणा व्यक्त गरे ।

कार्यक्रम संयोजक तथा प्रमुख अतिथि वडा सदस्य राम चन्द्र आचार्यले सामुदायिक शैक्षिक संस्थाका पूर्वाधार विकासमा वडाको सधैँ सहयोग रहने भन्दै ग्रीन भ्याली रिसाइकल सहकारीको फोहोर व्यवस्थापन प्रयासमा साथ सहयोग र सहकार्य गर्न सधैँ तयार रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा ज्ञान ज्योति माविका प्रधानाध्यापक श्री यम बहादुर कार्कीले फोहोर वर्गीकरण गरी विद्यालयले मोहर बनाउन ग्रीन भ्याली सँग सहकार्य गर्ने र सबैलाई गर्न अनुरोध गरे ।

चण्डीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले पोखरा १६ मा वर्गीकृत फोहोर(रिसाइकल) संकलन गर्ने ग्रीन भ्यालीलाई कुहिने र ल्याण्डफिल्ड साइट जाने न्यून फोहोरको ढुवानी जिम्मा दिन सके थप प्रभावकारी हुने भन्दै आवश्यक प्रबन्ध मिलाउन वडा समक्ष माग राखे ।

ग्रिन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पोखरा १६ अर्मलामा Recyclable Waste(फोहोर) संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी विगत दुई वर्षदेखि निरन्तर फोहोर व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएको छ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button