पोखरामा मुवाँथाईको समर क्याम्प सम्पन्न

पोखरा जेठ, १३। पोखरामा ४५ दिने मुवाँथाई खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ सम्पन्न भएको छ ।

आयोजकले कार्यक्रम समापन गर्दै समर क्याम्पमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । सहभागीहरूलाई पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरे।

सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्फुटन गराउनु मुख्य आवश्यकता रहेको बताए । उनले भने–“प्रशिक्षकहरूले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नीतिगत रूपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घचघच्याएको छ ।”

मुवाँथाई खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताए । मुवाँथाई खेललाई थप परिष्कृत गर्दै विद्यालय स्तरमा पुर्‍याउनु पर्ने खाँचो रहेको उनले सो अवसरमा औँल्याए ।

थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने सँगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निःशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए । प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गरेका थिए । जहाँ उनले निःशुल्क प्रशिक्षण सँगै सहभागीहरूलाई निःशुल्क खेल पोसाकलगायतका सामाग्रीहरू समेत वितरण गरेका थिए ।

समर क्याम्पन अन्तर्गत मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरू, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जना भन्दा बढी सहभागी रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।

साथै समापनका अवसरमा सहभागीहरूले प्रदर्शनी खेलहरू समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागीहरूलाई प्रशिक्षकहरू ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनीश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उनीहरूलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मान पत्र प्रदान गरेका थिए ।

मुवाँथाई परम्परागत मार्शल आर्ट खेल हो । यो खेलमा बौद्ध र हिन्दु परम्परासँग जोडिएको छ । विश्वमा यो खेलको व्यवसायीकरूपमा व्यापकता पाए पनि दुई खेल संघमा विभाजित यो खेल नेपालमा ‘मुवाँथाई’ र ‘मुआथाई’ भन्ने शब्दमा बल्झिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button