पोखराको रत्नमन्दिरको ढोका आजदेखि सबैकालागि खुला

  • पोखरा न्यूज
  • २०८० जेष्ठ १५
पोखराको रत्नमन्दिरको ढोका आजदेखि सबैकालागि खुला

पोखरा, १५ जेठ । नेपाल ट्रष्टको कार्यालय माताहतमा रहेको पोखराको रत्न मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले गणतन्त्र दिवसको अवसर पारेर फेवाताल किनारमा अवस्थित यो  मन्दिर सर्वसाधारणको अवलोकन र भ्रमणका लागि खुला गरेका हुन् ।

ट्रष्ट कार्यालयका अध्यक्षसमेत रहेका मन्त्री किरातीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पोखरेली पर्यटन व्यवसायी र सयौं नागरिकको उपस्थितीमा  रत्न मन्दिरको ढोका सर्वसाधरणका लागि सधैंका लागि खुला गरिएको उदघोष गरे ।

जनताको माग अनुसार नै रत्न मन्दिरको ढोका खोलिएको उल्लेख गर्दै उनले अब हिमागृहको ढोका पनि छिटै सर्वसाधारणका लागि खुला गरिने बताए । आम पोखरेली नागरिकको चाहना र मागलाई ध्यानमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मन्दिर खुला गरिएको मन्त्री किरातीको भनाई छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र लागू भइसकेको अवस्थामा  रत्न मन्दिर र हिमागृह जस्ता महत्त्वपूर्ण स्थानलाई राजतन्त्रमा जस्तै लुकाउएर राख्नुपर्ने अवस्था नभएको भन्दै उनले यस्ता स्थानलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउनुपर्ने उनले बताए । रत्न मन्दिर खुला गरेसँगै पोखरामा पर्यटकको बसाइँ कम्तिमा एक दिन लम्बिने विश्वास मन्त्री किरातीले व्यक्त गरेका छन् ।

रत्न मन्दिर अवलोकनका लागि टिकटको व्यवस्था गर्ने तयारी ट्रष्टको कार्यालयले गरेको छ ।  आज उद्घाटनको दिन भने निःशुल्क अवलोक गर्ने व्यवस्था मिलाइएको छ  ।

रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले वर्षौदेखि उठाउँदै आएको भएपनि गणतन्त्र स्थापना भएको १५ वर्षपछि  यसले सार्थकता पाएको हो ।

तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा वि.सं २०१५ सालमा निर्माण गरेको रत्न मन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने गरेको यो मन्दिर राजा विरेन्द्रको परिवारको निधन पश्चात नेपाल ट्रष्टको स्वामित्वमा रहदै आएको छ ।

रत्न मन्दिरको दुई तले मुख्य भवनमा ११ वटा  कोठा रहेका छन् ।  रत्न मन्दिर परिसरलाई ट्रष्टको कार्यालयले  पाँचवटा क्षेत्रमा विभाजन गरेको छ । कार्यालयले आजबाट सर्वसाधारणका लागि खुला गरेको परिसरमा क्षेत्र १ मा रहेको परिसरको मूल द्वार, फेवा द्वार र प्रशासनिक सहितका तिन वटा भवन रहेका छन् । त्यसैगरी क्षेत्र २ मा रहेको ऐतिहासिक रत्नमन्दिर दरवार, तालघर,  नानीगंज तथा मोटर ग्यारेज सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

मुख्य रत्नमन्दिर दरवारमा भने फोटो खिच्न नपाइने व्यवस्था ट्रस्टले गरेको छ । ट्रस्टले दरवारको भुइँ तलालाई सुरक्षित गराएर हेर्न मिल्ने गराउदै छ ।

अरु तीन क्षेत्रमा  सैनिक बस्ने ३८ कोठे  भवन, हेलिप्याड, राजाको अफिस घर र हाल नेपाली सेनाले खेल मैदानका रुपमा प्रयोग गर्दै आएको क्षेत्र लगायत रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस