बगर भाइखलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

पोखरा, २३ जेठ । बगर भाइखलक ६० वर्ष माथिको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ ।

मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यही जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्टर्स स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिँदै खेलकुद सँगै सामाजिक अभियानमा सक्रिय भाइखलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताले पोखरालाई खेलकुद मार्फत परिचय गराउन सहयोग मिल्ने बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले भाइ खलकले समाजमा सचेतना जगाउने सँगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रूपान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने–“म पनि कुनै बेला फुटबलको खेलाडी थिए । आफू सक्रिय पूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रूपमा भाइ खलकले स्थापित गरेको छ ।”

सो अवसरमा समाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।

पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षीय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षीय केशव (आनन्द) रञ्जित, ६८ वर्षीय चिन बहादुर गुरुङ, ६६ वर्षीय दिल बहादुर गुरुङ, ६५ वर्षीय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षीय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षीय लोक बहादुर गुरुङ, ६० वर्षीय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् ।

टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाइ कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरूलाई मायाको चिनो स्वरूप खेल पोशाक प्रदान गरेका थिए ।

बगर भाइ खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथिको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारत जान लागेको हो । नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाइ खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिक हरूको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ ।

यसै बिच भाइ खलकले सञ्चालन गरेको ग्रास रुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उनी विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहेका छन् । उनको घुँडाको शल्यक्रिया गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button