हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै

पोखरा, २३ जेठ । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यका साथ पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर एजुकेट नेपाल प्रोजेक्टले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका नाम्खा गाउँपालिकाका १७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यले यही जेठ २६ गते पोखराको सभागृहमा कार्यक्रम हुन लागेको एजुकेट नेपाल प्रोजेक्टका शोभित ठकुरीले बताए ।

ठकुरीका अनुसार साँझ ६:३० बजेबाट सुरु हुने परोपकारी सांगीतिक साँझमा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दीपक थापा लगायतको प्रस्तुति रहने छ ।

कार्यक्रममा विद्यार्थीका लागि दुई सय ५० , कर्मचारीका लागि पाँच सय र व्यापारिक व्यक्ति तथा संघ संस्थाका लागि एक हजार रुपैयाँ दरको टिकटको व्यवस्था गरिएको ठकुरीले बताए ।

पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्रोजेक्टमा किरण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरू भोलेन्टियर रूपमा काम गर्दै आएका छन् ।

एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समयदेखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ ।

संस्थाले केही समय अगाडि पूर्वी रुकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button