विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतको लज्जास्पद हार, अस्ट्रेलिया २०९ रनले विजयी

भारतलाई दुई सय नौ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

पाँचौ दिनको खेलमा भारतलाई २ सय ३४ रनमा अलआउट गर्दै अस्ट्रेलियाले टेस्ट च्याम्पियनसिपको दोस्रो संस्करणको उपाधि चुमेको हो । पहिलो संस्करणमा पनि भारतलाई नै पराजित गर्दै न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । बेलायतको ओभल मैदानमा भएको खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

भारतको निर्णय गलत सावित गर्दै अस्ट्रेलियाले सबै विकेट गुमाउँदै ४६९ रनको विशाल स्कोर खडा गर्यो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १२१ र ट्राभिस हेडले १६३ रनको योगदान दिए । यसैगरी एलेक्स क्यारेले ४८ र डेभिड वार्नरले ४३ रन बनाए । बलिङतर्फ मोहम्मद सिरजले ४ विकेट लिँदा मोहम्मद सामी र सार्दुल ठाकुरले २-२ विकेट लिए ।

पहिलो इनिङमा भारतका लागि अजिङ्क्या रहानेले ८९, सार्दुल ठाकुरले ५१ रन तथा रविन्द्र जडेजाले ४८ रन बनाएपछि अलआउट हुँदै २ सय ९६ रन बनायो । अस्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । पहिलो इनिङको १७३ रनको अग्रतालाई फराकिलो बनाउँदै अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ७० रन बनायो । दोस्रो इनिङमा अस्ट्रेलियाका एलेक्स क्यारेले ६६ तथा मिचेल स्टार्क र मार्नुस ल्याबुसेनले समान ४१-४१ रनको योगदान दिए ।

जीतका लागि चौथो इनिङमा ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारत २३४ रनमा सीमित भयो र खेल २ सय ९ रनले हार्न पुग्यो । चौथो इनिङमा भारतलाई सस्तैमा रोक्न स्कट बोल्यान्डले उत्कृष्ट बलिङ गर्दै तीन विकेट चट्काए । नेथन लायनको भागमा चार विकेट पर्यो भने मिचेल स्टार्कले दुई विकेट लिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button