यसपालिको मनसुनले कोशी र मधेस प्रदेशमा धेरै क्षति गर्नसक्ने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति यसपालिको मनसुनले कोशी र मधेस प्रदेशमा धेरै क्षति पुर्याउने पुर्वानुमान गरेको छ ।

समितिले स्वीकृत गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८० का अनुसार यो वर्ष मनसुनबाट १२ लाख ५० हजार जन प्रभावित हुने अनुमान गरिएको छ । स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस लगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।

यसैगरी पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा रहने व्यवस्था मिलाइएको कार्ययोजनामा उल्लेख गरिएको छ ।स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना सूचिकृत भइसकेका छन् भने कार्ययोजनामा सङ्घीय मन्त्रालय तथा निकायहरू र केन्द्रीय विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, जिम्मेवार मन्त्रालय तथा विभागहरु र सुरक्षा निकायहरुको जिम्मेवारीका साथै आपतकालीन अवस्थामा विषयगत क्षेत्रको सम्पर्क विवरणहरु पनि उल्लेख गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ ।

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने संभावना रहेको बताउनुभयो । नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।

नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउँछ ।

विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।

त्यसैगरि, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपर छन् ।

प्रदेशगत हिसाबले यो वर्ष मनसुनबाट मधेस प्रदेशमा सबैभन्दा धेरै जनसंख्या प्रभावित हुनेछन् । यसैगरी दोस्रो धेरै जनसंख्या प्रभाव पर्ने प्रदेश कोशी, तेस्रो धेरै प्रभावित पर्ने जनसंख्या लुम्बिनी प्रदेशमा रहेका छन् । कर्णालीमा मनसुन प्रभावित जनसंख्या सबैभन्दा कम प्रक्षेपण गरिएपनि भौगोलिक विकटता र बनावटका कारण उक्त प्रदेशमा व्यापक तथा गम्भीर जनधनको क्षति हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button