
मलेसियामा काम गरिरहेका करिब एक तिहाई कामदारलाई जबरजस्ती श्रममा लगाइने गरेको आरोप लागेको छ ।
संयुक्त राष्ट्रसंघको श्रम एजेन्सीले गरेको एक सर्भे अनुसार मलेसियामा २९% कामदारले जबरजस्ती श्रममा लगाइने अवस्थाहरु भोगेको बताएका छन् । ती अवस्थाहरुमा नियमित ड्युटी भन्दा बढी समय काम गर्नुपर्ने, ओभरटाइमहरुको तलब नपाउने, कम ज्यालामा काम गर्नुपर्ने, हिँडडुलमा बन्देज तथा काम छोड्न नपाइने आदि रहेका छन् ।
सिङ्गापुर र थाइल्यान्डमा गरिएको सोही सर्भे अनुसार सिङ्गापुरमा ७ प्रतिशत र थाइल्यान्डमा ४ प्रतिशत कामदारले जबरजस्ती काम लगाइने अवस्थाहरु भोगेका छन् । तीनै देशमा अन्य काममा तुलनामा घरेलु कामदार भएर जानेहरुले बढी समय बेतलबी काम गर्नु परेका छन् ।
मलेसियाले सर्भेको नतिजाबारे कुनै प्रतिक्रिया दिएको छैन । मलेसियामा नेपाल, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स लगायतका देशबाट अत्यधिक कामदार जाने गर्दछन् ।