स्टन्टबाजीका लागि गाँजाको कुरा नगर्न प्रदेशसभा सांसद केसीको आग्रह

गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले स्टन्टबाजी र सार्वजनिक खपतका लागि गाँजाको कुरा नगर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीबाट समृद्धिको सपना खोज्न सकिने औंल्याए ।

सांसद केसी भन्छन्, ‘जे कुरा पनि धेरै र मात्रा नमिलाई खाँदा विष हुन्छ । गाँजाबाट आयुर्वेदिक औषधिदेखि कपडासम्म बनाउन सकिन्छ । जतिसक्दो छिटो गाँजाबाट औषधी उत्पादनदेखि निर्यातसम्मको वातावरण बनाऔं ।’ उनले विदेशबाट आयात हुने मदिराको बजार हिस्सा ठूलो रहेको जनाउँदै नेपाली उत्पादन घरेलु मदिराको अनुसन्धान व्यापारिकण गर्न सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७७/०८८ देखि २०७९/०८० मा प्रदेशका ११ जिल्लामा गरी ११ लाख ६ हजार ५१२ वटा गाँजाका बोट नष्ट गरिएको र आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म २७ हजार ५ सय ५७ लिटर तयारी घरेलु मदिरा र ३९ हजार ९५० लिटर मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले नष्ट गरेको तथ्यांकलाई औल्याउँदै केसीले स्टन्टबाजीकै लागि मात्रै गाँजाको कुरा नगर्न बताएका हुन् ।

संघ सरकार र गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमदेखि बजेटसम्म गाँजाको औषधीजन्य प्रयोगका लागि अध्ययन गर्ने उल्लेख छ । प्रदेश सरकारले घरेलु मदिराको गुणस्तर वृद्धि र ब्रान्डिङ गर्न प्रस्ताव गरेको छ ।

सदनमा एमाले सांसद केसीले प्रश्न गरे, ‘यी दुई विषयमा प्रदेश सरकार बोलेको सार्वजनिक खपतका लागि हो वा साँच्चै यसमा गम्भीर भएर लाग्ने हो र गाँजाको औषधिजन्य प्रयोग र घरेलु मदिराको ब्रान्डिङका लागि प्रदेश सरकारको योजना के छ ?’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button