
विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा वेस्टइन्डिजले नेपालसामू ३ सय ४० रनको विशाल लक्ष्य पेश गरेको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट शुरूवात गरेको थियो । करनले केसीले दोस्रो ओभरमै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले आक्रामक ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमै पवेलियनको बाटो देखाउँदा गुल्सन झाले पनि आफ्नो पहिलो ओभरको पहिलो बलमै ब्रान्डन किङलाई शून्य रनमै आउट गरेका थिए ।
नेपालले तेस्रो विकेटको पनि अवसर पाएको थियो तर विकेटकिपर आसिफ सेखले ललित राजवंशीको बलिङमा निकोलस पुरनको क्याच लिन नसक्दा नेपालले मौका गुमाएको थियो । त्यसै अवसरको भरपुर फाइदा उठाउँदै पुरनले ९४ बलमै १ सय १५ रनको आक्रामक पारी खेले ।
उनलाई साथ दिँदै सेइ होपले पनि १ सय ३२ रनको शतकीय पारी खेले । अन्त्यमा रोभमन पावेलले २९ र जेसन होल्डरले १६ रनको आक्रामक क्यामियो खेलेपछि क्यारेबियन टोलीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३ सय ३९ रन जोड्न सफल रह्यो ।
बलिङतर्फ नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले अघिल्ला दुई खेलमा लागेको विकेटको खडेरी भने तोडे । उनले एक विकेट लिए । तीन सय ४० रनको विशाल लक्ष्य पछ्याउदै अब नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।