
विश्वकप छनोट प्रतियोगिताअन्तर्गत बलियो प्रतिद्वन्द्वी वेस्टइन्डिजसँग भएको खेलमा नेपाल एक सय एक रनको विशाल अन्तरले पराजित भएको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट शुरूवात गरेको थियो । करनले केसीले दोस्रो ओभरमै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले आक्रामक ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमै पवेलियनको बाटो देखाउँदा गुल्सन झाले पनि आफ्नो पहिलो ओभरको पहिलो बलमै ब्रान्डन किङलाई शून्य रनमै आउट गरेका थिए ।
नेपालले तेस्रो विकेटको पनि अवसर पाएको थियो तर विकेटकिपर आसिफ सेखले ललित राजवंशीको बलिङमा निकोलस पुरनको क्याच लिन नसक्दा नेपालले मौका गुमाएको थियो । त्यसै अवसरको भरपुर फाइदा उठाउँदै पुरनले ९४ बलमै १ सय १५ रनको आक्रामक पारी खेले ।
उनलाई साथ दिँदै सेइ होपले पनि १ सय ३२ रनको शतकीय पारी खेले । अन्त्यमा रोभमन पावेलले २९ र जेसन होल्डरले १६ रनको आक्रामक क्यामियो खेलेपछि क्यारेबियन टोलीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३ सय ३९ रन जोड्न सफल रह्यो ।
बलिङतर्फ नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले अघिल्ला दुई खेलमा लागेको विकेटको खडेरी भने तोडे । उनले एक विकेट लिए । तीन सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अलआउट हुन पुग्यो ।
नेपालका लागि आरिफ सेखले सर्वाधिक ६३ रन बनाउँदा गुल्सन झाले ४२, रोहित पौडेलले ३० तथा करन केसी र आसिफ सेखले समान २८-२८ रन बनाए । वेस्टइन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए ।
आजको हारसँगै अब नेपालको विश्वकप छनोट हुने सम्भावना लगभग सकिएको छ । अब सुपरसिक्समा पुग्न भने नेपालले नेदरल्याण्डलाई हराउनै पर्नेछ । नेदरल्याण्डले आजै अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।





