
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डङ्गोलले आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौं महानगरको बजेट पेश गरेकी हुन् । यस आवमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको डङ्गोलले जानकारी दिइन् ।
महानगरको आय स्रोतमा जारी बैंक मौज्दात, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान, आन्तरिक आय, राजस्व बाँडफाँटलगायत रहेका छन् । महानगरसँग हाल ११ अर्ब ७५ करोड रुपैयाँ बैंक मौज्दात रहेको तथा बाकिँ संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ आय हुने जनाइएको छ ।
महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ भने धुँवाधुलोरहित सडक, सडक बत्ती, आफ्नै टेलिभिजन जस्ता योजना पनि अघि बढाउने भएको छ ।





