
काठमाडौंमा निजी विद्यालयको कक्षा ११ र १२ को शुल्क महानगरले नियमन गर्ने भएको छ ।
महानगरले आफ्नो मातहतमा पर्ने निजी विद्यालयहरुलाई कक्षा ११ र १२ को २०८०/८१ शैक्षिक सत्रको शुल्क विवरण बुझाउन निर्देशन दिएको हो । अब असार मसान्तसम्म विद्यालयहरुले के कस्तो शुल्क लिने हो भनेर काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित प्रस्ताव पेश गर्नुपर्नेछ ।
विद्यालयको व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुने र त्यस भन्दा बढी शुल्क लिएको पाइएमा कारवाही गरिने महानगरले जनाएको छ । काठमाडौंमा पाँच भन्दा बढी प्लस टुको पढाइ हुने विद्यालय छन् ।





