प्रतिनिधिसभाको आजको बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गरिँदै

आज हुने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० पारित गर्नका लागि अर्थमन्त्री प्रकाशशरण महतले प्रस्ताव पेश गर्ने भएका छन् ।
संधीय संसदको सम्भावित दैनिक कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
यसैगरी सांसदहरुले विभिन्न मन्त्रालयहरुमा हुनसक्ने खर्च कटौतीको प्रस्तावहरु पनि निर्णयार्थ पेश हुने कार्यतालिका छ । २७ जना सांसदले मन्त्रालयहरुमा विभिन्न खर्च कटौतीलो प्रस्ताव पेश गरेका थिए ।
यसैगरी अर्थमन्त्री महतले आर्थिक विधेयक,२०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० माथि छलफल गर्न प्रस्ताव पेश गर्नेछन् । बैठकबाट आर्थिक विधेयक,२०८० को छलफलका लागि पनि दिन तोकिने भएको छ ।