माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठग्ने झापाका एक पुरुष पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ६ लाख भन्दा बढी पैसा ठग्ने एकजना पुरुष पक्राउ परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भएका ३८ वर्षीय युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको टोखा-३ धापासी बस्दै आएका लिम्बुले वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिने आश्वासन दिलाई भुवन भट्टराईसँग ६ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए ।
लिम्बुलाई प्रहरीले हिजो बिहीबार १२ बजेको समयमा काठमाडौं-५ कालोपुलबाट पक्राउ गरेको थियो । पानीजहाजमा काम लगाइदिने तथा एक लाख तलब हुने भनेर प्रलोभनमा पारी पटक पटक गरि उक्त रकम लिम्बुले भट्टराईबाट लिएका थिए ।
लिम्बुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।