सामाजिक सञ्जालबाट – माननीय ज्यु, धान रोप्न तीन मिनेटको समय निर्धारण गरिएको छ !

शुक्रबार असार १५, धान दिवस, रोपाइँ दिवस, हिले महोत्सव अनि दही चिउरा खाने दिन । देशभरि सबै उमेर समूहदेखि सबै पेशा समूहका मानिस हिलो मै भेटिए । कति खेतको हिलोमै रमाए भने कति असारे विकासले छुन नसकेर असारे झरीले छोएको हिलाम्मे बाटोमै हिलो दिवस मनाउन बाध्य भए ।
यसैबीच सामाजिक सञ्जालमा देखाउनकै लागि भए पनि वर्षको एकदिन रोपाइँ गर्नेको लर्को नै लाग्यो । शुक्रबार नेतादेखि अभिनेतासम्म हिलोमै भेटिए । हिलोमा भेटिने जति सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाए पनि । उनीहरुलाई सामाजिक सञ्जालमा आएको केही रोचक प्रतिक्रिया हामीले यहाँ समेटेका छौ :
शुक्रबारको खेती देखेपछि काठमाडौंका मेयर बालेनले लेखेका छन्, ” नेताज्युहरुले यसरी नै, वर्ष भरीनै धान रोपिदिनुभो भने, तपाईंहरु भारतको गुलाम हुनु पर्दैन ।” ९५ हजार बढी प्रतिक्रिया आएको यो पोस्टमा १३ हजार बढीले कमेन्ट पनि गरेका छन् । त्यसै पोस्टमा सेयरबजारका नामुद् लगानीकर्ता शिवचन्द्रको कमेन्ट छ, ” गमबुट र रेनकाेटको भर परेर गमलामा रोपाइँ गरेर देश समृद्ध होला र मेयर साप?” लेखक गणेश कार्कीले पनि त्यसै पोस्टमा कमेन्ट गरेका छन्, “अनि एक पल्ट गोड्ने बेलामा पनि गइदिए कति मल र कस्तो बिउ चाहिने रैछ भन्ने पनि थाहा हुन्थ्यो होला ।”
कवि अर्जुन पराजुली लेख्छन्,” उता गाउँमा खेल बाँझै छ, यता शहरमा रोपारहरु फेसबुकमा धान रोप्छन् ।” यस्तै फेसबुकमै भेटिएको अर्को एक पोस्टमा लेखिएको छ, “माननीय ज्यु, धान रोप्न तीन मिनेटको समय निर्धारण गरिएको छ ।” रुपेश यादवले लेख्छन्, “अनि तिमी कुन पार्टीको किसान ? तिमिले आज धान रोप्यौ कि झन्डा ?”
धान दिवसको अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रोपाइँ गर्न चितवन पुगेका थिए । यसैगरी रास्वपा सभापति रवि लामिछानेले पनि चितवनमै धान रोपे । चितवनको भरतपुर महानगरकी मेयर तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल पनि खेतमै भेटिइन् । एमालेका गोकुल बाँस्कोटाले काभ्रेमै धान रोपे भने पोखराका मेयर धनराज आचार्य हिलो महोत्सवमा भेटिए । नेता बाबुराम भट्टराई पनि चितवनमा सामुहिक रोपाइँ तथा विभिन्न कृषि कार्यालयहरूको अवलोकन र कृषि विश्वविद्यालयका विज्ञहरूसँग छलफलमा भएको जानकारी दिए ।
यसरी नेताहरु खेतमा पुग्दा कतिले वास्तविक किसानको दु:खमाथि मजाक बनाएको टिप्पणी गरे भने कतिले मल, बिउलगायतको अभावबारे अनभिज्ञ नेताहरुले नाटक गरेको प्रतिक्रिया दिए । एक दिन किसान बनेर ३० अर्बको धान आयात गरेको भन्दै कतिले व्यङ्ग गरेका छन् भने कतिले ३० दिनसम्म धान दिवस मनाउनु पर्ने बताएका छन् ।