
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्दैछन् ।
यस अघिका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिन असफल भएपछि त्यहाँको सरकार गठन भएको करिब ६ महिनापछि ढलेको थियो । ९३ सदस्यीय कोशीको प्रदेशसभामा कार्कीलाई विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिनेमा ४६ मात्र पाएका थिए ।
नयाँ सरकार निर्माणका केन्द्रमा जारी गठबन्धनले अब प्रयास गर्ने जनाइएको छ । तर उक्त गठबन्धनका चार दल मिल्दा पनि प्रदेशसभाका सभामुखबाहेक ४६ सांसद मात्रै पुग्ने छन् । जसकारण कोशी प्रदेशमा नयाँ सरकारको सम्भावना पनि निकै कमजोर छ । कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् भने उसलाई सरकार गठनमा सहयोग गरेको राप्रपासँग ६ सांसद छन् ।
गठबन्धनतर्फ काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना गरी ४७ प्रदेशसभा सदस्य छ्न् जसमध्ये माओवादी केन्द्रका बाबुराम गौतम प्रदेशसभाका सभामुख हुन् । गठबन्धनले यसकारण राप्रपालाई सरकारमा सामेल गराउन प्रयत्न गरिरहेको छ ।