
महोत्तरीमा सामान्य विवादमा गोली चल्दा एक जना घाइते भएका छन् भने गोली हान्नेलाई स्थानीयले कुटपिट गर्दा उनी पनि अचेत भएका छन् ।
मंगलबार साँझ पौने ६ बजे महोत्तरीको रामगोपालपुर नगरपालिका- १ बसबिट्टीमा ३८ वर्षीय कौशल मण्डलले ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेका हुन् । गोली लागेर गम्भीर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता बन्दुकधारी मण्डललाई स्थानीयले नियन्त्रणमा लिइ कुटपिट गर्दा उनको अवस्था अचेत बनेको छ । उनको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।