सल्यानमा गुडिरहेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बिहीबार बिहान सल्यानको कपुरकोट-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको हो । बसले ३३ के. भि. प्रसारण लाईनको पोलको तार छुँदा बसमा सवार मध्ये २ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
घटनामा मृत्यु हुनेमा बस मालिक छत्रेश्वरी–६ का ३६ वर्षीय महेन्द्र वली, रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगी रहेका छन् । डाँगीद्वय बाबुछोरा रहेको जनाइएको छ । उनीहरुको घटनास्थल मै र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार रातिको हावाहुरी रुख लडेर बिजुलीको तार तल लत्रेको र सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको स्थानीयको भनाई छ ।





