दुई अर्ब बढीको सुन तस्करी गर्ने गिरोह पक्राउ, यसरी मिलाउथे सेटिङ…

वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत साढे दुई अर्ब बराबरको सुन तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गैरकानुनी रूपमा भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याएको सुचनाको आधारमा निगरानी गर्दै जाँदा असार २४ गते प्रहरीले काठमाडौं आउँदै गरेका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेश पन्जियार, दिनेश कुमार यादव, भुम बहादुर ओली, सुनिल कुमार महरा र सन्त गुलाम मुराव रहेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको आर२४० नम्बरको फ्लाईटबाट कतार हुँदै बिहान १०:१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएका थिए ।

यसैगरी उनीहरूले ल्याएको तस्करीको सुन संकलन गर्न आउने विनोद कुमार साह, सन्जु कुमारी साह, दुर्गा प्रसाद यादव र देवनन्दन साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सिनामंगल स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ पर्ने मध्येकी सन्जु कुमारी साहको बयानबाट तस्करीको सुन किन्ने सर्लाही घर भई हाल काठमाडौं-२८ बागबजार बस्ने निमाई साहलाई पनि पक्राउ गरेको छ । उनले सञ्चालन गर्दै आएको सुपर्ना ज्वेलर्सबाट प्रहरीले पाँच सय ४२ ग्राम सुन पनि बरामद गरेको हो ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार तथा लगानीकर्ता सिरहाको लहान-४ बस्ने शिव सुन्दर राउत रहेका छन् । राउतले लहानमा ‘रितेश जनलर स्टोर’ र ‘आई पे रेमिट’ सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरोहले कतारमा हुँदा नै वैदेशिक रोजगारीमा रहेका श्रमिकसँग सेटिङ मिलाउँदै आएका थिए । रेमिट सञ्चालन गरेका राउतमार्फत पैसा पठाउँदा अरुले भन्दा धेरै दररेट दिएर धेरै भन्दा धेरै श्रमिकलाई उनले सुन तस्करीमा समावेश गराउने गरेका थिए । गिरोहले श्रमिकलाई न्यून ज्यालाको लोभ देखाएर ५० ग्रामका दरले सुन ल्याउन लगाउने गरेको प्रहरीले जनाएको छ ।

राउतको योजनालाई साथ दिन काठमाडौंको सिनामंगलमा होटल हिमालयन स्क्वायर सञ्चालन गरि श्रमिकलाई एक रात सित्तैमा बस्ने व्यवस्था विनोद कुमार शाह र उनकी श्रीमती सन्जु कुमारी साहले गरेका थिए । उनीहरुले त्यसका साथसाथै सुन संकलन गर्ने र राउतले भनेको ठाउँमा सुन बेचेर पैसा पुर्याउने कामसमेत गर्दै आएको जनाइएको छ । सोही गिरोहमा संलग्न मोहन कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

राउतले सञ्चालन गरेको रितेश जनरल स्टोर्सको कुल कारोबार एक अर्ब ९६ करोड रहेको प्रहरीले जनाएको छ । यसैगरी मुख्य योजनाकार मध्येकै अर्का विनोद कुमार साहको कुल कारोवार ४० करोड भन्दा बढी रहेको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button