वान एक्स बेट नामक अनलाइन सट्टेबाजी वेबसाईटको प्रचार गरेको आरोपमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) लगायतका कलाकारहरु रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंंले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएसँगै अक्ठ कलाकार ५ हजार धरौटी तिरेर रिहा भएका हुन् । रिहा हुनेमा श्रेष्ठ र पौडेलसहित जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे रहेका छन् । उनीहरुविरुद्ध विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।
यसैगरी उक्त प्रकरणका मुख्य आरोपी मानिएका दिनेश खड्कासँग दस लाख र अनिता धितालसँग पाँँच लाख धरौटी माग गरिएको छ । उनीहरुविरुद्ध भने नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी छ ।





