इमर्जिङ टिम्स एसिया कप : पाकिस्तानविरुद्ध नेपालको निराशाजनक ब्याटिङ

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपालले पाकिस्तान ए टिमविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ ।

शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । तर टस जितेर ब्याटिङ रोज्नु नेपालका लागि प्रत्युत्पादक सावित भयो र नेपाल मात्र ३७ ओभर खेल्दै १७९ रनमा समेटियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ र प्रतिश जिसीले २६ रन बनाए । त्यसबाहेक कुशल मल्ल र पवन सर्राफले समान १७-१७ रन बनाउनु नै सबैभन्दा ठूलो उपलब्धि रह्यो । आसिफ सेखले १२ र गुल्सन झाले १३ रनको योगदान दिए । एक समय ७२ रनमै ८ विकेट गुमाएको नेपाल सय रन नबनाउँदै अलआउट हुने अवस्थामा पुगेको थियो । तर त्यसपछि सोमपालले प्रतिश र ललित राजवंशीसँग ५८ र ४५ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोर सम्म पुर्याएका थिए ।बलिङतर्फ पाकिस्तान ‘ए’का सहनवाज दहानीले ५ र मोहम्मद वसिम जुनियरले ४ विकेट लिन सफल रहे ।

प्रतियोगितामा समूह ‘बी’मा रहेको नेपालले आफ्नो दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ । समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेका छन् । यसैगरी समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button