पोखरा क्षेत्रमा पृथ्वी राजमार्ग विस्तारका लागि महानगर र एडिबिका प्रतिनिधिबीच छलफल

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बीच छलफल भएको छ ।

प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी थिए ।

भेटका क्रममा पोखरा-मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडी बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको आचार्यले बताए ।

“अहिले हामीले पोखरा खण्डको राइट अफ वे खालि गराउने काम सम्पन्न गरिसकेका छौँ, प्रमुख आचार्यले भने, “अभियान कै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो, अब केही स्थायी संरचनाहरू हटाउन बाँकी छ, मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचनाहरू तत्काल हटाइनेछ ।” हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको उनले बताए । उनका अनुसार काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको छ ।

पृथ्वी राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । यसैगरी सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button