
असार ३ गते हेवा खोलामा आएको बाढीले मोटरेबल पुल बगाएको स्थानमा बेलीब्रिज निर्माण भएको छ ।
पुल बगेर मेची राजमार्ग अवरोध भएपछि वैकल्पिक रुपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरि सवारी साधनहरुको आवत जावत गरिएको थियो । आजबाट भने हेवाखोला स्थित मेची राजमार्गमा बेलीब्रिज निर्माण सम्पन्न भइ सञ्चालनमा आएको हो ।
पुलबाट एकपटकमा एउटा सवारीसाधन मात्र एकतर्फी रुपमा आवत जावत गर्ने व्यवस्था गरिएको छ । पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल यात्राका लागि पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन र बालबालिका तथा वृद्धलाइ एक्लै सो पुलको प्रयोग गर्न नदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रह गरेको छ ।
यसैगरी बेलिब्रिजमा २५ टनभन्दा बढी भार बहन गरि ढुवानी नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।