इमर्जिङ टिम्स एसिया कप : युएईविरुद्ध सान्त्वना जीतको खोजीमा नेपाल

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत भारत ए र पाकिस्तान ए टिमविरुद्ध निराशाजनक हार व्यहोरेको नेपालले समूहको अन्तिम खेलमा युएई ए को सामना गर्दैछ ।
बुधबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको पि सारा मैदानस्थित कोलम्बो ओभलमा हुने खेलमा नेपाल सान्त्वना जीतको खोजीमा हुनेछ । यस अघिका दुवै खेलमा टस जितेर ब्याटिङ रोज्नु नेपालका लागि प्रत्युत्पादक सावित भएका थिए । दुई खेलमा सोमपाल कामी, रोहित पौडेल र गुल्सन झाबाहेकले गतिलो व्याटिङ गर्न सकेका थिएनन् ।
कमजोर ब्याटिङ प्रदर्शन पछि नेपाल पाकिस्तानसँग ४ विकेट र भारतसँग ९ विकेटले पराजित भएको थियो । नेपाल जस्तै युएई पनि भारत र पाकिस्तानसँँग हार व्यहोर्दै प्रतियोगिताबाट भने बाहिरिसकेको छ ।
आठ टिम सहभागी प्रतियोगितामा समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेका छन् । यसैगरी समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन् ।