पोखराको आतिथ्यतामा राष्ट्र संघका महासचिव कृतज्ञ

  • पोखरा न्यूज
  • २०८० कार्तिक १४
पोखराको आतिथ्यतामा राष्ट्र संघका महासचिव कृतज्ञ

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पोखराले अद्भुत आतिथ्यता प्रदान गरेको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आइपुगेका गुटेरेसलाई पुरानो विमानस्थलमा अवतरण पश्चात् भव्य स्वागत गरिएको थियो । रेड कार्पेट ओछ्याएर नेपाली मौलिकता झल्किने गीत र बाजागाजासहित उनलाई पोखरामा स्वागत गरिएको थियो ।

गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली विमानस्थल पुगेको थियो   ।

स्वागत पश्चात होटेलतर्फ प्रस्थान गरेका उनी केही समय आराम गरेपछि पोखरा २२ स्थित पुम्दिकोटमा पुगेका थिए । गुटेरेसले पुम्दीकोटबासीको आतिथ्यताको माझमा, हिमाल, डाँडाकाँडा,फेवाताल र पोखरा उपत्यकालाई नियालेका गुटेरेसले त्यहाबाट फर्किएर साँझ फेवातालमा बोटिङ समेत गरे ।

पूर्वनिर्धारित योजना बिनै पोखरा घुमेका उनले पोखरेलीले गरेको आतिथ्यताको खुलेर प्रशंसा गरे । पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पोखरामा अद्भुत आतिथ्यता प्राप्त गरेको बताए । आफ्नो नेपाल भ्रमणको उद्धेश्य प्रकृति विरुद्धको युद्ध रोक्नका लागि विश्वलाई स्पष्ट सन्देश दिने रहेको उनले बताए । हिमाल र हिमनदीहरुलाई जोगाउनुपर्ने बताउदै गुटेरेसले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने देशहरूलाई  सहयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।

आज भन्दा ४५ वर्ष अघि सन् १९७८ मा विद्यार्थीका रुपमा पोखरा घुम्न आएका गुटेरेसले आफ्नो त्यो बेलाको भ्रमण र  पुरानो पोखराबारे पोखराका मेयर धनराज आचार्यसँग कुराकानी समेत गरेका थिए । सन् २०१७ मा संयुक्त राष्ट्र संघको महासचिव भएपछि उनी पहिलो पटक नेपालको भ्रमणमा आएका हुन ।

राष्ट्र संघका महासचिव गुटेरेसको अतिविशिष्ट पाहुनाको रुममा भएको  भ्रमणबाट पोखराबासी उत्साहित भएका छन् । आज बिहान अन्नपूर्ण आधार शिविर पुगेर पुन: पोखरा विमानस्थल फर्किएका गुटेरेस लुम्बिनी प्रस्थान गरेका  छन् ।  महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस