गोरखामा मनाइयो मकै सुकाउने पर्व

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । विशेषगरि नेवार समुदायले मकै सुकाउने पर्व मनाउने गर्दछन् ।

यो पर्वलाई निकै लोपोन्मुख मानिन्छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले पर्व आयोजना गरेको हो ।

समितिका अध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार आँगनमा प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाउने परम्परा छ ।

मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ-आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए । यसरी सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ ।

सोमबार साँझको जुनमा स्थानीयवासीले घर-घरबाट ल्याएका मकैलगायतका अन्न चन्द्रमाको प्रकाशमा सुकाएर मकै सुकाउने पर्व मनाइएको हो ।

नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठका अनुसार करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको हो ।

कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ ।

शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको श्रेष्ठले बताए ।

परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए ।

उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए ।

मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले नेपालको परम्परा संस्कृतिमध्ये मकै सुकाउने पर्व पनि एक भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, गोरखा नगरपालिकाका पूर्वप्रमुख राजनराज पन्तलगायतले पर्वको महत्वका बारेमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button