राष्ट्रिय माविको हीरक महोत्सव : मंसिर २० मा शुभारम्भ, वर्षभरि विभिन्न कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ ।

विद्यालय स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको हो । विद्यालयले एक वर्षसम्म मनाउने विभिन्न कार्यक्रम घोषणा गरेको छ । जसमा मंसिर २० गते हीरक जयन्ती समारोह शुभारम्भ गर्ने तयारी छ ।

मंसिर २० गते प्रभातफेरीसहित हीरक जयन्ती शुभारम्भ गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । हीरक जयन्ती कार्यक्रम शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।

प्रभातफेरी कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्ने अध्यक्ष राणाले जानकारी दिए ।

प्रभातफेरी र्‍याली विद्यालय स्थापना भएको पोखरा-३ नदीपुरस्थित नारायणस्थान मन्दिरबाट सुरु गरिनेछ ।

प्रभातफेरी र्‍याली पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, भीमसेनटोल, बागबजार हुँदै विद्यालय परिसर पुरानोमा आएर हीरक जयन्ती शुभारम्भ सभामा परिणत हुने अध्यक्ष राणाले बताए ।

प्रभातफेरीमा पञ्चे बाजासँगै सरस्वतीको झाँकी प्रदर्शन गरिनेछ भने ७५ जना विद्यार्थीहरु विभिन्न भेषभूषामा सजिएर प्रस्तुत हुनेछन् ।

प्रभातफेरीमा विद्यालयका जग्गादाता पराजुली परिवार र विद्यालय स्थापना हुँदा रहेका सञ्चालक समितिका व्यक्तिहरुको फोटो राखिने अध्यक्ष राणाले जानकारी दिए ।

यस्तै, २००६ सालदेखि २०७८ सालसम्मका प्रत्येक व्याचको प्लेकार्डसहित पूर्व विद्यार्थीहरु सहभागी हुने उनले बताए ।

वि.सं. २००६ मंसिर २० मा पब्लिक मिडिल स्कूलको नामबाट पोखरा-३ नदीपुरमा संचालित विद्यालयलले २००७ मा स्थायी स्वकृति पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो ।

नदीपुरमा भवनको जग खन्नेक्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो । सोहीक्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आइपुगेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसपछि तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निर्माण सम्झौता भएको थियो । भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए ।

विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तीर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागू हुनुपूर्व विद्यालयको नाम नेसनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो ।

हाल विद्यालयका इसिडिदेखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु भएको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button