प्रधानमन्त्री आज युएई जाँदै

  • पोखरा न्यूज
  • २०८० मंसिर १३
प्रधानमन्त्री आज युएई जाँदै

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज संयुक्त अरब इमिरेट्स (युएई) तर्फ प्रस्थान गर्ने भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली युएई जान लागेको हो ।

कोप-२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

युएईको दुबईमा भोलि सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।

कोप सम्मेलन १३ दिनसम्म सञ्चालन हुनेछ । प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने जनाइएको छ । संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार नै प्रधानमन्त्रीले ‘कल अफ दी माउन्टेनः हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।

सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र हिमालका एजेन्डालाई कोप-२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्ने बताइएको छ ।

सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस