
पोखरा । पाँचौ युनिप्स खेल महोत्सव आज औपचारिकरुपमा उद्घाटन भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा दुई दिन अघिबाट नै खेलहरु सुरु भएको थियो ।
उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तिको प्रतिक परेवा उडाएर गरेका थिए ।
बिहीबारबाट सुरु भएको एथ्लेटिक्सतर्फको ट्रयाक एण्ड फिल्ड छात्र ४०० मिटर दौडमा कालिकाका आकाश त्रिपाठी, गेफका दिपेश सिंह ठकुरी, होली एन्जलका रोशन वर्देवा र शिलसिलाका सुजन दाहाल क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो भए । यस्तै छात्रातर्फ ४०० मिटर दौडमा एकता आवासीयकी बबिता पौडेल प्रथम, कालिकाकी प्रतिक्षा त्रिपाठी द्वितीय, वेलननकी मिनाक्षी कुंँवर तृतीय र शलिसिलाकी स्मृति ढकाल चौथो भएकी छन् ।
यस्तै आधारभूत तह (कक्षा १-५) छात्र/छात्रा कवड्डी अन्तर्गत आज सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
कवड्डीमा कुल २४ टिमको सहभागिता रहेकोमा छात्रतर्फ पञ्चासे वोर्डिङले पिनाकल एकेडेमीलाई ४६-३५ अंकले पराजित गर्दै प्रथम भएको छ भने एकता आवासीय तेश्रो र स्माइल स्मल हेभेन चौथो भएको छ ।
छात्रातर्फ वेलननलाई पिनाकललाई ४६-३५ को अंकमा पराजित गरि प्रथम हुँदा राइजिङ सन तेश्रो र स्माइल स्मल हेभेनले चौथो स्थानमा चित्त बुझाएको छ ।
फुटबल मावितहतर्फ वेलनन र एकता आवासीय मावि फाइनलमा प्रवेश गरेका छन् ।
फाइनल खेल समापनका अवसरमा १६ गते हुने युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् ।





