|फाइल तस्वीर
पोखरा । सुत्केरी र शिशुको मृत्यु प्रकरणले लमजुङ अस्पताल दुई दिनदेखि तनावग्रस्त बनेको छ । यो तनावले अस्पतालका सबै सेवा प्रायः ठप्प भएका छन् ।
सुत्केरी गराउन सोमबार अस्पताल जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ की २६ वर्षीया शोभा विकलाई अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया गरेर शिशु मृत अवस्थामा निकालिएको अस्पताल प्रशासनले जनाएको छ ।
शल्यक्रिया पश्चात् शोभाको रक्तश्राव नरोकिएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । उनलाई चितवनमा अस्पताल पुर्याउनेबित्तिकै चिकित्कले मृत घोषणा गरेको थियो ।
त्यसपछि शोभाका परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन सुरु गरेका थिए ।
दुई दिनसम्म पनि समस्या समाधान नभएपछि आक्रोशित समूहले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै अस्पतालमा तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र दुई प्रहरी घाइते भएका छन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरेर तनावको स्थितिलाई सामान्य बनाएको थियो । आक्रोशित समूहबाट प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्नेक्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।
अस्पतालमा ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले बताए ।
अस्पताल प्रशासनले अहिलेसम्म घटनाबारे यथार्थ सार्वजनिक नगरेको पीडित पक्षको भनाइ छ । बिहीबार साँझ परिसक्दा पनि अस्पताल, सरोकारवाला र प्रहरी प्रशासनले वार्तामा बोलाउन ढिलाइ गरेको भन्दै आफन्त आक्रोशित बनेका थिए ।
अस्पताल, प्रहरी प्रशासन र आफन्तबीच बुधबारदेखि नै वार्ताको प्रयास भए पनि सहमति नभएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
आफन्तले घटनाको छानबिन हुनुपर्ने माग राखेपछि गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार प्रदेश निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।
खड्काको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति बनेको हो । समितिले छानबिन गरेर एक हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution