पोखरा । विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्राडा देवराज अधिकारीले सामुदायिक क्याम्पसहरुले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
पोखरा बहुमुखी क्याम्पसको ३७औं वार्षिकोत्सव समारोहमा उनले अनुसन्धानलाई प्राथमिकता दिन सकिए क्याम्पसमा शिक्षाको गुणस्तर बढ्ने दावी पनि गरेका छन् ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि प्राध्यापकको गुणस्तर बढाउनुपर्ने भन्दै अधिकारीले यसका लागि प्राध्यापकहरुले अनुसन्धानमूलक काम गरेकै हुनुपर्ने उल्लेख गरे ।
पछिल्लोक्रममा देशको राजनीतिक, आर्थिक लगायतका परिस्थितिले युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै उनले त्यसलाई रोक्नका लागि शिक्षाको गुणस्तर अत्यधिक बढाउनुको विकल्प नभएको बताए ।
उनले शिक्षाको गुणस्तर र स्वदेशमै शैक्षिक करिअरमा विद्यार्थीलाई आकर्षित गर्न सघाउने उद्देश्यले नै विश्वविद्यालय अनुदान आयोगले ऐनसमेत परिमार्जन गर्न लागेको जानकारी दिए ।
देशकै अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आत्मसमीक्षा गर्नुपर्ने भन्दै अधिकारीले अबका दिनमा शिक्षाको गुणस्तर मापन गरिसकेपछि मात्र सम्बन्धन दिने पद्दति विकास गर्नुपर्नेमा जोड दिए ।
उनले पोखरा बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा निकै फड्को मारेको भन्दै यसबाट अन्य क्याम्पसले शिक्षा लिनुपर्ने बताए ।
पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले सामुदायिक क्याम्पसहरुले समय समयमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरुका अनुभव विद्यार्थीलाई बाँड्ने पद्दतिको विकास गनुपर्नेमा जोड दिए । यस्तो गर्न सकिए विद्यार्थीहरुले स्वदेशमा अवसरका क्षेत्रहरु पहिल्याउन सक्ने उनको दावी छ ।
जिसीले क्याम्पसका लागि विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले मोफसलका सामुदायिक क्याम्पसलाई सहयोग, प्रेरणा, हौसला, चासो र निगरानी दिनु नै उत्कृष्ट शिक्षा प्रणालीको पहिलो खुड्किलो भएको बताए । उनले क्याम्पसलाई सही ढंगले सञ्चालन गर्दै अन्तर्राष्ट्रिय जगतमा विकाउ हुने खालको जनशक्ति उत्पादन गर्नुपर्ने खाँचो औंल्याए ।
जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छेले सामुदायिक क्याम्पसमा विद्यार्थीको संख्या घटिरहेको भन्दै यसतर्फ सरोकारवालाले ध्यान पदनुपर्नेमा जोड दिए । समग्र शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउन सबैको सहयोग आवश्यक रहेकोसमेत उनले बताए ।
क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस प्राध्यापक संघका अध्यक्ष हस्तबहादुर थापाले क्यूयूए प्राप्ति प्रक्रियामा उन्नति उन्मुख भएको र छिट्टै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले गुणस्तरीय शिक्षाका लागि गरिरहेको प्रयासमा हौसला र सहयोगको हात बढाइदिन आग्रह गरिन् । उनले पछिल्लो समयमा विद्यार्थीहरु शैक्षिक तथा अतिरिक्त क्रियाकलापका लागि निकै जागरुक भएको भन्दैै उनीहरुको उज्वल भविष्यका लागि क्याम्पस लाग्ने प्रतिवद्धता जनाइन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सलिना थापा मगर, वरिष्ठ प्राध्यापक महेन्द्र रिमाल लगायतले बोलेका थिए ।
क्याम्पसका वरिष्ठ प्राध्यापक महेन्द्र रिमाललाई दीर्घसेवा सम्मान, सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारी र प्राध्यापक भीम न्यौपानेलाई उत्कृष्ट प्राध्यापककारुपमा सम्मान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution