
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र सिविन नेपालले लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम गरेका छन् । ‘लैङ्गिक हिंसा अन्त्यका लागि सुनिश्चितताः महिला र बाल बालिकामा लगानीको एक्यवद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले महिलामाथि हुने हिंसा तथा संविधानमा महिला हकको व्यवस्थाबारे जानकारी गराएकी थिइन् ।
सिविनका कार्यक्रम प्रमुख माधव लोहनीले बाल अधिकारको विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका गरी एक सय जना सहभागी थिए ।
सभापति शर्माले रेडक्रसले लैङ्गिक तथा सामाजिक समावेशीकरण समिति बनाएर लैङ्गिक समानता कायम गर्ने कार्यक्रम गरेको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मीला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी, जिल्ला सदस्य तथा लैङ्गिक तथा समाजिक समावेशीकरण समितिका संयोजक रमा न्यौपाने कोइराला, जिल्ला सदस्य रमा त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सभापति नेत्रपाणि भण्डारी, रुपा-७ हंसपुर उपशाखाका उपसभापति कल्पना सुवेदी, जुनियर युवा सर्कल पोखरा-११ का अध्यक्ष पुकार कार्की लगायतले बोलेका थिए ।





