
पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै भारत उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै देशको पूर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ बताइएको छ ।
जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरको छ ।





