२५औँ भदौरे पञ्चासे महोत्सव पुस ५ गतेदेखि

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सुन्दर पर्यटकीय गाउँ भदौरेमा २५औँ भदौरे पञ्चासे महोत्सव हुने भएको छ ।

भदौरे क्लव र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सव पुस ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

महोत्सवमा विशेष सहयोगीको भूमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवले ठूलो भूमिका खेलेको हुँदा यसलाई निरन्तरता दिइएको भदौरे क्लवका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कोदोबाट बनाइएको विभिन्न खानाका परिकारको स्वाद लिनसमेत उनले आग्रह गरे ।

महोत्सव अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन गराउनका लागि खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गरिने भदौरे क्लवका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । सुन्दर गाउँ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको उनले बताए ।

महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प (सानो घर) आवास, पञ्चासे जंगल सफारी, फरेस्ट थेरापी तथा जंगल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।

महोत्सवमा हुने सेभेनए साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु एक लाख, दोश्रो हुने टिमले नगद रु ६० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई रु २०, २० हजारका दरले सम्मान गरिनेछ ।

पर्यटक आवासका लागि भदौरे गाउँमा होटेल तथा होमस्टेहरु सञ्चालित छन् । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काँखमा रहेको सो गाउँ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र यसै गाउँमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाउँलाई चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिमश्रृंखला अन्र्रगत नीलगिरी, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालहरु प्रष्टरुपमा देख्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button